समृद्ध कर्णालीको सपना

नेपाल सङ्घीय गणतन्त्र घोषणा भएपछि सात प्रदेशमा विभाजन भयो । सो विभाजन अनुसार क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो प्रदेशका रूपमा कर्णाली रहेको छ । प्राकृतिक रूपमा सुन्दर र प्रचुर सम्भावनाले भरिपूर्ण प्रदेश हो– कर्णाली । नेपाली भाषाको उद्गम स्थल सिँजा उपत्यका जुम्ला पनि कर्णालीमै पर्छ । जल, जमिन, जङ्गल, जडीबुटी तथा खनिज पदार्थको खानी हो कर्णाली ।

 जलविद्युत् उत्पादनको हिसाबले १८ हजार मेगावाट क्षमता रहेको विभिन्न अध्ययनले देखाएका छन्। मुख्य गरी ठूला आयोजना माथिल्लो कर्णाली ९०० मेगावाट, मुगु कर्णाली १७४ मेगावाट, वेतन कर्णाली ६८८ मेगावाट, फुकोट कर्णाली ४८० मेगावाट, जगदुल्ला १०६ मेगावाट, जगदुल्ला ए १२० मेगावाट, नलगाध ४१० मेगावाट, किमाथाङ्का ४५४ मेगावाट, तिला एक ३०० मेगावाट, तिला दुई २९७ मेगावाट, भेरी एक ६१७ मेगावाट, भेरी चार ३०० मेगावाटलगायत थुप्रै जलविद्युत् आयोजनाको मुहान हो कर्णाली प्रदेश । यी आयोजना निर्माण गर्न सकियो भने कर्णाली देशकै धनी प्रदेश हुनेमा शङ्का छैन । अझ भनौँ कर्णालीले देशकै अर्थतन्त्रमा निकै ठूलो योगदान गर्ने छ । जसमध्ये ९ वटा आयोजना जम्मा ४,२४५ मेगावाटको आयोजना मात्र निर्माण गर्न सकियो भने ५० प्रतिशत रोयल्टी प्रदेशले पाउने छ । लगभग ४ अर्ब रुपियाँ प्रति वर्ष आम्दानी हुन्छ । त्यसमध्ये माथिल्लो कर्णालीबाट मात्र २ अर्ब ३२ करोड रोयल्टी बुझाउने छ । धेरै मानिसले भने जस्तो कर्णाली गरिब होइन, सबैभन्दा धनी बन्ने छ । यी आयोजना समयमै सम्पन्न गर्नका लागि भने विभिन्न मन्त्रालय, विभागका नीति नियम अझ धेरै वातावरणसम्बन्धी कानुनी झन्झट परिवर्तन गर्न आवश्यक छ । सडक, विद्युत् प्रसारण लाइन निर्माण जरुरी छ ।

कर्णाली प्रदेश पर्यटकीय आकर्षणको केन्द्र हो । यहाँको रारा तालले २९९० मिटर उचाइमा रहेर करिब १० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । शेफोक्सुण्डो ताल ३५८९ मिटर उचाइमा करिब छ वर्ग किलोमिटरमा फैलिएको छ । स्यार्पुताल करिब ३ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । बुलबुल ताल, कुपिण्डे ताल, कर्णाली, भेरी, तिला, मुगु कर्णाली यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् । तथा मध्य पहाडी लोकमार्ग कर्णालीबासीका लागि विकासको मेरुदण्ड हो । कालिकोट, जुम्ला, डोल्पा, हुम्लाका स्याउ, बगैँचा कृषि पर्यटनका केन्द्र हुन् ।

खनिज पदार्थहरूमा फलाम, तामा, सिसा, चुनढुङ्गा, मार्बल, पेट्रोलियम, स्लेट ढुङ्गा, रुबी निकेललगायत थुप्रै खानी रहेका छन् भन्ने विभिन्न अध्ययनले देखाएका छन् ।

यस्तै जडीबुटीहरूमा यार्सागुम्बा, रातो च्याउ, सतुवा, गुच्ची च्याउ, अतिस, अमला, ओखर, कटुको, काउलो, काकर, सिङ्गी, काली काठको गेडा, कालो मुस्ली कुरिलो, सतावरी, खयर, खामु, गनाइनो, चुक, भुइचुक, चुली, चुत्रो, टिमुर, टुकीफूल तालिस्पत्र, तितेपाती, दालचिनी, देवदार, बटेलो, ध्यारो, धुपजडी, धुपी, निर्मशी, पदमचाल, पदम, पुस्कर, पाषणवेद, पाँचऔँले, पिपला, पोडे बर्राे, बज्रदन्ती, बुकीफूल, बेल, बोझो, भाले चिराइतो, भुत्केस, भूतले भोजपत्र, भ्रिंगराज, मजिठो, ममिरा, रिठा, लाघुपत्र, लोहन, लोठसल्ला, वनतरुल, वन लसुन, विष विषफिज, विषमा शिलाजित, सर्पगन्धा, सालधुप, सिकाकाई, सुगन्ध कोकिला, सुगन्धवाल सुनपाती, सेत्कचिनी, सेतो मुस्ली, सोमलता हर्राे, हात्तीपाइला लगायत थुप्रै औषधीजन्य जडीबुटीको माटो हो कर्णाली ।

विश्वको उच्च स्थानमा रहेको मानव बस्ती धो डोल्पा, सिँजा उपत्यका, जुम्ला लिमी उपत्यका, हुम्लालगायत थुप्रै प्रसिद्ध ठाउँ रहेका छन । साथै प्रसिद्ध धार्मिक स्थल काँक्रेबिहार पञ्चदेवल, त्रिपुरा सुन्दरी, चन्दननाथ मन्दिर, खार्पुनाथ, शिवालय, जाजरकोट दरबार, खैरावाङ मन्दिर, देउतीबजै मन्दिर डिग्रेसाइकुमारी मन्दिर, हाल्जी गुम्बा रिबो थुम्पा, सिपाल आधार शिविर, कैलाश प्रवेशद्वार जस्ता पर्यटनका आकर्षण रहेका छन् ।

संरक्षित राष्ट्रिय निकुञ्जहरू रारा राष्ट्रिय निकुञ्ज, शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज, काँक्रेबिहार, वन क्षेत्र रहेका छन् । यी सबै कर्णालीका सम्पत्ति हुन् । यिनीहरूको सही सदुपयोग गर्न सके कर्णालीबासीको समृद्धि यात्रा तय हुन्छ ।

कर्णालीमा परिवर्तनको अवस्था

व्यावसाय अध्ययन रिसर्चका क्रममा मैले नेपालका ७७ वटै जिल्ला भ्रमण गर्ने अवसर प्राप्त गरेँ । सायद म निकै भाग्यमानी रहेछु, मलाई नेपाल छोड्न मन नलागेकोमा आफैँ सन्तुष्ट त छैन तर मेरा आँखाले देखेको अथाह सम्भावनाले यही देशमै केही नयाँ काम गर्ने दृढता आजसम्म अविचलित रूपमा छ ।

पछिल्लो स्थानीय, प्रदेश र सङ्घको चुनावमा गाउँ गाउँका बस्तीमा पुग्ने अवसर पाएँ । त्यो मेरो जिन्दगीमा अर्काे अध्याय सुरुको प्रारम्भ बिन्दु हुने हो कि भन्ने लागेको छ । म जन्मेको ठाउँमा गाउँलेहरूको लगानीमा बल्लतल्ल ट्रयाक खुलेको छ । अझै बिजुली पुगेको छैन । आशा गरौँ त्यो पनि छिट्टै पुग्ने छ । जनयुद्धको चरम द्वन्द्वबाट स्वास फेरेको पनि १८ वर्ष पुगिसके छ तर मेरो गाउँ उस्तै लाग्छ । चरम गरिबी र अभावले गर्दा मैले परिवार छोडेको २० वर्ष बितिसकेको छ । बुवा मजदुरी गर्न भारत जान छोड्नु भएको छ । हामीले मजदुरी गर्न छोडेको छौँ । गाउँलेको घट्ट अधियाँ लगाएर भारो उठाएर हामी पालिएको अझै याद छ । अझ धेरै भारो उठाएको पिठो कमी हुँदा अलि बढी पानी थपेर खोले बनाएर बुवाले हामी छोराछोरीलाई पुग्ने बनाएको बिर्संदैन ।

आज मेरो गाउँ र मैले पढेको स्कुलको पहिलो इन्जिनियर बन्न सफल भएको छु । मलाई थाह छैन यसमा म खुसी हौ कि दुःखी किनकि मेरो समाज उस्तै छ । अहिले पनि मेरो गाउँ गरिबी अभावबाट मुक्त हुन सकेको छैन । म यो वर्ष गाउँमा धेरै पुगेँ, धेरै गाउँले दाजुभाइसँग भलाकुसारी गर्ने अवसर पाएँ । मध्यपान धूमपान सेवनले गर्दा सामाजिक सद्भाव बिग्रिरहेको छ । बेरोजगारी, अशिक्षा जस्ता कुराले समाज आक्रान्त छ । रक्सी खाएर आफ्नै घर आगो लगाएको घटना आफ्नै आँखा अगाडि देख्दा मन खिन्न भयो । सामाजिक चुनौतीहरू थपिँदै छ । असलको अलावा राज्यले लगानी गरेका खानेपानी आयोजना र पाइप जताततै अलपत्र छन् । बाटोमा पानी, हिलो, घरअगाडि फोहोर आदिबाट हुन सक्ने जोखिम झन बढ्दै गएको देखेँ । मैले गाउँमा सचेतना अभियान चलाएँ । सबै राजनीतिक पार्टीका युवालाई सचेतना अभियान चलाउन अनुरोध गरेँ । आफू पनि सामेल हुने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यी सबै कर्णालीको सन्दर्भमा लागू हुन्छन् ।

रुकुमको सन्दर्भ र कर्णालीको सन्दर्भमा हजारौँ मानिसलाई रोजगार दिने उद्देश्यसहित डेरी उद्योग, वाइन उद्योग, कृषि कम्पनी, कृषि तथा पशुपालन, सामूहिक कृषि सहकारी नर्सरीहरू स्थापना गरिएका छन् । तर राजनीतिक पार्टीका स्वार्थ व्यवस्थापनको अभावका कारण ती सबै काम नलाग्ने स्थितिमा रहनु अहिले ती उद्योग गोरु कुर्ने चौकीदारसमेत नहुनु निकै दुःखद छ । यी उद्योगमा राज्यको लगानी करोडौँ रहेको छ । यसको सही तरिकाले व्यवस्थापन तथा सञ्चालन जरुरी छ । यी उद्योग सम्बन्धित विषय विज्ञको जिम्मा लगाएर स्कुल कलेजका विद्यार्थीहरूको लागि रिसर्चको काम गर्ने प्रयोगात्मक थलोको रूपमा विकास गर्ने सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

समग्र कर्णाली एउटा सुनको कचौरा हो । तर  राजनीतिक दल र तिनका असक्षम नेताका कारण सुनको कचौरा लिएर भीख मागिरहेका छौँ । अब युवा जाग्ने बेला भइसकेको छ । तमाम युवा अब कर्णालीमा रहेका स्रोतसाधनको समुचित प्रयोग गरेर समृद्धिको ढोका खोल्न ढिला गर्नु हँुदैन । अब पनि हामी युवाले कर्णाली रूपान्तरणको अभियान सञ्चालन गर्न सकिएन भने हाम्रो समाज गरिबी, पछौटेपन, बढ्दो बेरोजगारीबाट आक्रान्त हुने निश्चित छ । समयमै पहल कदमीका लागि सम्पूर्ण राजनीतिक पार्टीभित्रका सचेत युवालाई आग्रह गर्न चाहन्छु । युवा चुनावमा प्रयोग मात्र हुने होइन, अब देश निर्माणको सवालमा प्रत्यक्ष सहभागी हुन जरुरी छ । युवा परिवर्तनका बाहक हुन् । अब सडक, स्कुल, पार्टीपौवा, धारा, कुवा जस्ता सार्वजनिक स्थल सम्बन्धित टोलटोलबाट सरसफाई गरेर समाजमा सकारात्मक सोचको विकास गर्दै समाजमा आशाको दियो बाल्नुपर्ने अहिलेको आवश्यकता हो ।

अहिलेको युग हाइड्रोजन तथा विद्युतीय युग हो । आज हाइड्रोजनबाट रेलसमेत चलिसकेका छन् । विश्व ऊर्जा परिषद्को अध्ययन अनुसार नेपाल विश्वको तेस्रो ठुलो हाइड्रोजन उत्पादन क्षामता भएको देश हो । यहाँ उत्पादन भएको हाइड्रोजन विश्वलाई बिक्री गर्न सकिने भन्ने रहेको छ । नेपाल ढिलोचाडो हाइड्रोजन उत्पादनमा नगई सुखै छैन । बरु ढिलो नगरी नियम, कानुन बनाउनतर्फ अग्रसर हुनु पर्दछ । हाइड्रोजन उत्पादनको हिसाबले कर्णाली निकै उपयुक्त ठाउँ हो । त्यसका लागि कर्णाली विकास मोडल तयार गरी द्रुत गतिमा मुलुकको जर्जर अवस्थाको अर्थतन्त्र धरासायी भएको शिक्षा प्रणाली भूराजनीतिक प्रतिस्पर्धाले निम्त्याएको जोखिम र यसको दीर्घकालीन असर कमजोर शासकीय क्षामता आम जनताको पहुचबाट अझै टाढा रहेको सार्वजनिक सेवालगायत थुप्रै विषय हाम्रा ठूला चुनौती हुन् । यी चुनौतीको समाधान सही ढङ्गले गर्न सकियो भने कर्णालीमा मात्र होइन नेपालबाट विकास र समृद्धिको सन्देश विश्वभरि दिन सक्छौ । विदेशिएका लाखौँ क्षामतावान् व्यक्ति आफैँ देशमा फर्किने वातावरण तयार हुन्छ । यो अभियान कर्णालीबाटै सुरु गरौँ ।

Recently Blogs

Residential Bunglow Design

GenZ Revolution in Nepal sept 8, 2025

समाजसेवी राजु केसीद्वारा रुकुम पश्चिमका १३,००० विद्यार्थीहरूलाई ७० हजार थान शैक्षिक सामग्री हस्तान्तरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरेको राजनैतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर कार्यक्रम केही झलकहरू

Message us

Man Bahadur Shahi

Engineer Social Activest Youth Entrepreneure

Get In Touch

Phone Number

9851039749

Email Address

manushahi17@gmail.com

Address

Chaurjahari-14, West Rukum

@ 2026 Man Bahadur. All Rights Reserved.